ChamberActivity

8/31/2025 8:00:00 PM

माननीय गृहमन्त्री  रमेश लेखकज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा माननीय गृहमन्त्री  रमेश लेखकज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा अध्यक्ष गौतमज्यूले खुला सिमानामा भइरहेको अवैध कारोबारका कारण व्यापारी समुदाय मारमा परेको गुनासो राख्दै यसको समाधानमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले उधारो कारोबार सम्बन्धी कानुन बनाउनुपर्ने आवश्यकता औंल्याउनुका साथै पर्सा, बारा र रौतहटका उद्योगी–व्यवसायीहरूलाई भारतका विभिन्न शहर हुँदै तेस्रो मुलुक जानका लागि वीरगञ्जमै अध्यागमन सेवा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। साथै, भारतका सवारीसाधनहरूले भन्सार प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेजस्तै, नेपाली नम्बरका गाडीहरूलाई पनि भारतका विभिन्न शहरमा प्रवेश गर्न सहज व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याइयो। त्यसैगरी, एनओसी लिन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गरी स्थानीय स्तरमै सुविधा उपलब्ध गराउनुपर्ने विषयमा समेत ध्यानाकर्षण गराइएको थियो।

उक्त कार्यक्रममा सङ्घका पूर्व अध्यक्षज्यूहरू श्री ओमप्रकाश शर्मा र श्री अशोक वैद्य, निवर्तमान अध्यक्ष श्री अनिल कुमार अग्रवाल, उपाध्यक्ष श्री आशिष कुमार लाठ, कोषाध्यक्ष श्री अनुज कुमार रुङ्गटा, सचिव श्री प्रेमचन्द्र गोयल, कार्यसमिति सदस्यज्यूहरू, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।